बिना बिलबिजक सुनचाँदी खरिद नगर्न काठमाडौँ प्रहरीको आग्रह



काठमाडौँ, असोज २ । जिल्ला प्रहरी परिसर काठमाडौँले बिना बिलबिजकका गरगहना तथा सामान किनबेच नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रहरीका अनुसार जेनजी आन्दोलनका क्रममा आपराधिक समूहद्वारा लुटिएका गरगहना बिक्रीका लागि सुनचाँदी पसलमा ल्याउन सक्ने भएकाले बिल भर्पाईबिनाका सुनचाँदीका सामान खरिद नगर्न आग्रह गरिएको हो।

गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा राजधानीका विभिन्न सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, व्यापारिक प्रतिष्ठानलगायत निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट भएको प्रहरीले जनाएको छ। सो क्रममा चोरी÷लुटिएका गरगहना अवैध रूपमा बजारमा ल्याउने सम्भावना रहेको भन्दै सावधानी अपनाउन अनुरोध गरिएको हो।

प्रहरी उपरीक्षक तथा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले भने, “बिल भर्पाई बिनाका सुनचाँदीका गरगहना खरिद नगर्नुहोस्। त्यस्तो गतिविधि देखेमा तत्काल प्रहरीलाई खबर गर्नुहोस्। आपराधिक कार्यमा संलग्न भएको प्रमाणित भए कानुनअनुसार कडाभাবে कारबाही गरिनेछ।”

यसैगरी त्यस्ता सामग्री वा सूचना पाएमा प्रहरी कन्ट्रोल नम्बर १००, जिल्ला प्रहरी परिसर काठमाडौँको सम्पर्क नम्बर ९८५१२८३०१२ वा नजिकैको प्रहरी कार्यालयमा जानकारी दिन समेत अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्