आज प्रजातान्त्रिक आन्दोलनका योद्धा गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै
काठमाडौँ, असोज २ । २०४६ सालको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ तथा प्रजातन्त्र पुनःस्थापनाका अगुवा नेता गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रमसहित मनाइँदै छ।
नेपाली राजनीतिमा त्याग, साहस र समर्पणको प्रतिमूर्ति मानिएका सिंहलाई आज कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाले विशेष कार्यक्रममार्फत सम्झना गर्न लागेको हो। स्मृति दिवसका अवसरमा बिहान ७ः४५ बजे शोभाभगवतीस्थित सिंहको सालिकमा माल्यार्पण गरिने कार्यक्रम तय भएको छ।
गणेशमान सिंह १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका थिए। प्रजातन्त्र स्थापना र राणाशासन अन्त्य गर्ने अभियानमा किशोर अवस्थामै सक्रिय बनेका उनले नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्मा सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेका थिए।
२००७ सालको क्रान्तिमा वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरेका सिंह २०१५ सालको पहिलो आम निर्वाचनपछि बनेको सरकारमा वरिष्ठ मन्त्रीसमेत बने। तर २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्षसम्म सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास भोग्नुपर्यो।
२०४६ सालको जनआन्दोलनमा सर्वोच्च कमाण्डरको भूमिकामा रहेर उनले बहुदलीय प्रजातन्त्रको पुनःस्थापना गराउन महत्वपूर्ण योगदान दिए। आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न आग्रह गर्दा उनले कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै त्यागको उच्च उदाहरण प्रस्तुत गरेका थिए।
२०५४ साल असोज २ गते निधन भएका गणेशमान सिंह नेपाली राजनीतिमा प्रेरणादायी व्यक्तित्वका रूपमा अझै सम्झिँदै आइएका छन्।

