प्रतिनिधि सभा निर्वाचन घोषणा पछि दलहरू चुनावी तयारीमा सक्रिय
काठमाडौँ, असोज २ । सरकारले आगामी २०८२ फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने घोषणा गरेपछि प्रमुख राजनीतिक दलहरू चुनावी तयारीमा सक्रिय भएका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत दलका शीर्ष नेताहरूले कार्यकर्तालाई निर्वाचन तयारीमा जुट्न निर्देशन दिएका छन्।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार पार्टीका प्रदेश समिति तथा जनवर्गीय सङ्गठनलाई फोन र भर्चुअल माध्यमबाट चुनावी मोडमा लाग्न निर्देशन दिनुभएको पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो। पौडेलका अनुसार अध्यक्ष प्रचण्डले “अब कुनै न कुनै रूपमा निर्वाचन सामना गर्नुपर्छ” भन्ने धारणा व्यक्त गर्नुभएको छ।
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार ले निर्धारित समयमा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनु लोकतन्त्रका लागि आवश्यक भएको बताउनुभयो। उहाँले संसद् विघटन प्रकरण संवैधानिक बाटोबाट समाधान हुनुपर्ने र यदि त्यसो भएन भने “जनतामाझै जानु उत्तम उपाय” हुने धारणा राख्नुभयो।
नेकपा (एमाले) का उपमहासचिव एवं प्रवक्ता प्रदीप ज्ञवाली ले लोकतन्त्रमा निर्वाचन नै प्रमुख माध्यम भएको उल्लेख गर्दै “चुनावले असामान्य अवस्थालाई लयमा ल्याउने” दाबी गर्नुभयो। तर उहाँले विघटित संसद् सम्बन्धी वैधानिक टुङ्गो नलागुन्जेल निर्वाचनमा अनिश्चितता रहने चेतावनी दिनुभयो।
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ले जेनजी आन्दोलनबारे १६ बुँदे विश्लेषण गर्दै वर्तमान सरकारलाई सहयोग गरेर निर्वाचनमा जाने वातावरण बनाउनुपर्ने बताउनुभयो। उहाँले “यस आन्दोलनले दलतन्त्र, नेतातन्त्र र भ्रष्टाचारका सबै पाटा उजागर गरेको” भन्दै अब देशलाई नयाँ ढङ्गले अघि बढाउन निर्वाचन अपरिहार्य रहेको धारणा राख्नुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि निर्वाचनलाई शान्तिपूर्ण र लोकतान्त्रिक बाटोको रूपमा प्रस्तुत गर्दै तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गरेको छ। रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटी ले भन्नुभयो, “भ्रष्टाचार, बेथिति र अत्याचारको अन्त्यको माध्यम चुनाव नै हो, त्यसैले चुनाव समयमै हुनु पर्छ।”
निर्वाचन नजिकिँदै जाँदा दलभित्र आन्तरिक बहस तीव्र बनेको छ भने बाहिर नेताहरूले जनतालाई विश्वास दिलाउने प्रयास गरेका छन्। संसद् विघटन सम्बन्धी विवाद समाधान भएसँगै देश चुनावतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ।

