महाकाली राजमार्ग पहिरोका कारण अवरुद्ध
दार्चुला, असोज २ । महाकाली राजमार्ग फेरि पहिरोका कारण अवरुद्ध भएको छ । दोगडाकेदार गाउँपालिका–५ सलसेनामा आज बिहान खसेको ठूलो पहिराले राजमार्ग पूर्णरूपमा ठप्प पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक दीपककुमार रायका अनुसार सडकमाथिबाट खसेको पहिरोले सम्पूर्ण बाटो बन्द हुँदा दार्चुला आवतजावत गर्ने सवारीसाधन बीचमै रोकिएका छन् । राजमार्ग बन्द भएपछि यात्रुहरूलाई समस्यामा पर्नु परेको छ ।
सडक सुचारु बनाउन अहिले सडक डिभिजन कार्यालय, प्रहरी र स्थानीय निकायबीच समन्वय भइरहेको डिएसपी रायले जानकारी दिनुभयो । उहाँले भने, “डोजर परिचालन गरेर सकेसम्म चाँडो सडक खुलाउने तयारी भइरहेको छ ।”
यसअघि मङ्गलबार पनि सोही क्षेत्रमा पहिरो खसेर महाकाली राजमार्ग अवरुद्ध भएको थियो । लगातारको वर्षासँगै राजमार्ग बारम्बार अवरुद्ध भइरहेकाले स्थानीयवासी र यात्रुहरू जोखिममा परिरहेका छन् ।

