अमेरिकामा गोली हानेर तीन प्रहरीको हत्या



एजेन्सी,असोज २ । अमेरिकाको पेन्सिलभेनिया राज्यमा गोलीकाण्ड हुँदा तीन प्रहरीको मृत्यु भएको छ । बुधबार दिउँसो करिब २ बजे उत्तरी कोडोरस टाउनशिपको योर्क काउन्टीस्थित एक विद्यालय नजिक अज्ञात व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको बिबिसीले जनाएको छ ।

प्रहरीको जबाफी कारबाहीमा गोली चलाउने व्यक्तिको पनि मृत्यु भएको छ । घटनामा थप दुई प्रहरी गम्भीर घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

हालसम्म प्रहरीले गोली चलाउने व्यक्तिको परिचय र घटनाको कारण सार्वजनिक गरेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, प्रहरी अधिकारीहरूको निधनप्रति सम्मान स्वरूप पेन्सिलभेनिया राज्यका सरकारी कार्यालयहरूमा झन्डा आधा झुकाउने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्