गैडहवा तालमा डुबेर दुईको मृत्यु
रुपन्देही, असोज ३ । रुपन्देहीको गैडहवा तालमा पौडी खेल्ने क्रममा दुई युवाको डुबेर मृत्यु भएको छ । निधन हुनेमा गैडहवा गाउँपालिका–१ असिधहवाका १८ वर्षीय दिपेश थारु र उनका साथी अरुण थारु रहेका छन् ।
इलाका प्रहरी कार्यालय सूर्यपुराका अनुसार बुधबार दिउँसो करिब ४ बजेतिर दुवै जना गैडहवा गाउँपालिका–६ मा रहेको तालमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा दिपेश डुब्न थालेपछि उनलाई बचाउन अरुण पनि तालमा पसेका थिए । तर दुबै जनाको ज्यान गएपछि घटनास्थलमा शोक छाएको छ ।
प्रहरीका अनुसार उनीहरू बुधबार बिहान करिब ११ बजे घरबाट ताल घुम्न निस्किएका थिए ।
रुपन्देहीको सबैभन्दा ठूलो मानव निर्मित गैडहवा ताल करिब ८४ बिघा क्षेत्रफलमा फैलिएको छ । पछिल्ला वर्षहरूमा यो ताल आन्तरिक पर्यटकहरूको आकर्षण बन्दै आएको छ । तर सुरक्षा व्यवस्थामा कमीका कारण दुर्घटनाको जोखिम बढिरहेको स्थानीयले बताएका छन् ।

