दुर्घटनामा दुई जनाको मृत्यु, २२ जना घाइते
इनरुवा, असोज २। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ पुल्चोकमा आज भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहक बस ले सडक छेउमा बिग्रिएर रोकिएको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो ।
उक्त दुर्घटनामा घाइते भएकामध्ये एक जनाको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको थियो भने अर्का एक जनाको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल, भोक्राहामा उपचारका क्रममा मृत्यु भएको हो । मृतक दुवैजनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यस दुर्घटनामा घाइते भएका २२ जनाको अहिले भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित ग्लोबल कार्डियो एण्ड न्युरो अस्पतालमा उपचार भइरहेको डीएसपी खतिवडाले बताउनुभयो ।

