जनमतका वरिष्ठ उपाध्यक्षसहित ६ जनाको सामूहिक राजीनामा



काठमाडौँ, असोज २ । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित छ जना नेताले सामूहिक राजीनामा दिएका छन् ।

नेतृत्व परिवर्तनको माग पूरा नभएको भन्दै पार्टीका उपाध्यक्ष खान, केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादव, केन्द्रीय संयोजक कुमार यादव, सिके सिंह, वरिष्ठ प्रदेश इञ्चार्ज (सुदूरपश्चिम) राजाराम चौधरी र केन्द्रीय सदस्य विक्रमबहादुर बमले बुधबार सामूहिक राजीनामा दिएका हुन् ।

यसअघि उनीहरूले पार्टी अध्यक्ष डा. चन्द्रकान्त राउत र संगठन विभाग प्रमुख डा. जयकान्त राउतलाई २४ घण्टाभित्र स्वेच्छिक राजीनामा दिन अल्टिमेटम दिएका थिए । माग पूरा नभएपछि पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएको प्रवक्ता यादवले जानकारी दिनुभयो ।

राजीनामा पत्रमा देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै जनभावना अनुरूप नेतृत्व परिवर्तनको माग राखिएको उल्लेख छ । तर उक्त मागलाई अध्यक्ष पक्षले अपहेलना गर्दै उल्टै आधिकारिक फेसबुकमार्फत अङ्हकारपूर्ण धारणा सार्वजनिक गरेपछि आफूहरूको ध्यानाकर्षण भएको भन्दै असन्तुष्टि प्रकट गरिएको छ ।

त्यसै आधारमा आजैदेखि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिने निर्णय गरेको राजीनामा पत्रमा स्पष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्