प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता
काठमाडौँ, असोज २ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता भएको छ ।
वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय समकक्षी मोदीलाई उहाँको ७५औँ जन्मदिनको शुभकामना दिँदै दीर्घायु र सफल कार्यकालको कामना गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै उहाँले नेपाल–भारतबीचको सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई स्मरण गर्दै पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि जानकारी गराउनुभएको थियो ।
यसै क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपालकी नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै आगामी दिनमा असल छिमेकीका नाताले भारतले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
दुवै प्रधानमन्त्रीबीच भएको टेलिफोन वार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हितका मुद्दा तथा साझा चासोका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

