निर्वाचन आयोग समयमै निर्वाचन गराउन तयार रहेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीको भनाइ
काठमाडौँ, असोज २ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन पूर्ण रूपमा तयार रहेको बताएका छन्।
बिहीबार नवनियुक्त गृह तथा कानून, न्याय र संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याललाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै भण्डारीले निर्वाचनलाई समयमै सम्पन्न गर्नु आयोगको जिम्मेवारी भएको उल्लेख गर्दै कुनै बहानामा काम पन्छिने छुट आयोगलाई नभएको स्पष्ट पारे।
उहाँले शान्ति सुरक्षा विना निर्वाचन सम्पन्न गर्न असम्भव हुने भन्दै मुलुकमा शान्ति सुरक्षाको अवस्था खल्बलिएको तर्फ सरकारको ध्यानाकर्षण गराए। “निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकारले शान्ति सुरक्षाको प्रत्याभूति गर्न जरुरी छ,” भण्डारीले भने।
उनले कानून बमोजिम दर्ता भएका सबै राजनीतिक दलहरूको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै स्वतन्त्र उम्मेदवारहरूलाई पनि बिना अवरोध प्रचार–प्रसार गर्ने वातावरण दिनुपर्ने बताए।
त्यसैगरी, सरकारले छिट्टै अध्यादेश ल्याइदिएमा कानूनमा रहेका प्रावधानजन्य बाधा हट्ने र मतदाता संकलन लगायतका कार्य सहज हुने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ छ।

