प्रचण्डको आह्वान : “धुलो टकटक्याएर देश निर्माणमा लागौं”
काठमाडौँ, असोज २ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान दिवसको अवसरमा विशेष भिडियो सन्देश जारी गर्दै धुलो टकटक्याएर देश निर्माणमा लाग्न आह्वान गरेका छन्।
उनले भदौ २३ गतेको नरसंहार र २४ गतेको विध्वंसका कारण ७० भन्दा बढी युवाले ज्यान गुमाएको स्मरण गर्दै मुलुक गहिरो शोकमा रहेको बताए। सो घटनाले सार्वजनिक सेवा अस्तव्यस्त बनाएको उल्लेख गर्दै उनले देशव्यापी पुनर्निर्माणलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।
प्रचण्डले घटनाबारे स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे। उनले जेनजी आन्दोलनलाई विवेकपूर्वक सम्बोधन नगर्दा मुलुक तरल अवस्थामा पुगेको बताए।
उनको भनाइमा, जेनजी आन्दोलनको बलमा संसद्मार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी हुने शासकीय स्वरूपमा जाने गरी संविधान संशोधन गर्ने अवसर भए पनि त्यो गुमेको छ। “जेनजी आन्दोलनको उपलब्धि केवल अन्तरिम सरकार र निर्वाचनको घोषणामा सीमित रह्यो, शासकीय स्वरूप बदल्ने र इतिहास रच्ने मौका गुम्यो,” उनले भने।
प्रचण्डले अन्तरिम सरकारलाई असफल बनाउन प्रयास सुरु भइसकेको दाबी गर्दै सबैलाई संयमता र जिम्मेवारीका साथ देश पुनर्निर्माणमा एकताबद्ध हुन आग्रह गरे।

