अर्थतन्त्र सुदृढीकरणका लागि राजनीतिक स्थायित्व र लगानीमैत्री वातावरण आवश्यक : गभर्नर पौडेल



काठमाडौँ, असोज २ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन राजनीतिक स्थायित्व, लगानीमैत्री वातावरण र निजी क्षेत्रको मनोबल अभिवृद्धि अनिवार्य भएको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नयाँ कार्यसमितिलाई स्वागत गर्ने कार्यक्रममा उनले व्यवसायी जोगाउन अर्थतन्त्रको प्रणालीमै सुधार आवश्यक रहेको प्रष्ट पारे। कतिपय अवस्थामा कानुनमा स्पष्टता नहुँदा कार्यान्वयनमा समस्या देखिने उल्लेख गर्दै उनले कानुनको भावअनुसार स्पष्टता दिन जरुरी रहेको बताए।

“कानुनको स्पष्टता सबै क्षेत्रमा चाहिन्छ। विशेषगरी पत्रकारले समाचार लेख्दा कानुनी व्याख्या राम्रो नभए गलत सन्देश जाने खतरा हुन्छ, त्यसैले सचेत हुनुपर्छ,” गभर्नर पौडेलले भने।

जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि स्रोत अभाव नहुने उनको भनाइ थियो। तर उनले सुशासन र प्रशासनिक कार्यक्षमतामा सुधारलाई नै महत्वपूर्ण प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए।

प्रदर्शनका बेला निजी क्षेत्रमाथि आक्रमण हुँदा व्यवसायीमा चिन्ता थपिएको भए पनि अब उनीहरूको मनोबल उच्च बनाएर अघि बढ्नुको विकल्प नभएको उनले उल्लेख गरे।

“प्रदर्शनमा कैयौँ निजी व्यापारिक भवनमा क्षति पुगेका छन्। अब हाम्रो प्राथमिकता स्वदेशमै लगानीको वातावरण निर्माण गरी विदेशी पूँजी आकर्षित गर्नेमा हुनुपर्छ। सुरुमा स्वदेशी लगानीलाई सुरक्षित राख्न सकियो भने अर्थतन्त्रलाई गतिशील बनाउन लामो समय लाग्दैन,” गभर्नर पौडेलको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्