नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार



काठमाडौँ, असोज २ । कीर्तिपुर वर्न अस्पतालमा उपचाररत नेकपा (एस) का नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ।

अस्पतालकी मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारका अनुसार चित्रकार आइसियूमा उपचाररत छन् र ल्याउने बेला भन्दा अहिले स्वास्थ्यमा क्रमिक सुधार आएको छ।

“उहाँलाई ल्याउँदा भन्दा अवस्था राम्रो हुँदै गएको छ,” डा. ताम्राकारले बताइन्।

उनका अनुसार श्वासप्रश्वास नलीमा असर गर्दा छातीमा हल्का सङ्क्रमण देखिएको छ भने जलनका घाउमा दैनिक ड्रेसिङ गरिँदै आएको छ। डा. ताम्राकारले देब्रे हात अत्यधिक जलनका कारण प्रयोग गर्न नसक्ने अवस्थामा पुगेको समेत जानकारी दिइन्।

गत भदौ २४ गतेको हिंसात्मक प्रदर्शनका क्रममा डल्लुस्थित नेता खनालको निवासमा आगजनी हुँदा समयमै निस्कन नसकेकी चित्रकार जलेर घाइते भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्