साफ यू–१७ च्याम्पियनसिपमा नेपाल ४–० ले पराजित
कोलम्बो,असोज ३ । श्रीलङ्काको रेसकोर्स अन्तर्राष्ट्रिय रङ्गशालामा बिहीबार सम्पन्न साफ यू–१७ च्याम्पियनसिपको खेलमा नेपाल बङ्गलादेशसँग ४–० गोल अन्तरले पराजित भएको छ।
बङ्गलादेशका लागि मोहम्मद सबिर इस्लाम, मेहम्मद ओपु रहमान, मोहम्मद आरिफ र मोहम्मद मनिकले एक–एक गोल गरे।
यसअघि पहिलो खेलमा नेपालले घरेलु टिम श्रीलङ्कालाई २–० ले हराएको थियो। सोही कारण समूह ‘ए’ बाट नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना अझै कायम छ।
नेपालको भाग्य भने बङ्गलादेश र श्रीलङ्काबिच हुने अन्तिम खेलले निर्धारण गर्नेछ। यदि सो खेल बङ्गलादेशले जितेमा अथवा बराबरीमा सकिएमा नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ। तर श्रीलङ्काले जित हात पारेमा तीनै टिम समान अंकमा रहनेछन् र त्यसपछि गोल अन्तरका आधारमा शीर्ष दुई टोलीको छनोट हुने बताइएको छ।

