मुलुकभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं,असोज ३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ।
महाशाखाले शुक्रबार मुलुकभर साधारणतया बदली रहने जानकारी दिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा अन्य भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।
आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित अन्य पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने तराईका अधिकांश स्थानमा आंशिक बदली रहने विभागले जनाएको छ। यस अवधिमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहनसक्ने, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रमा अवरोध हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ। साथै सम्भावित जोखिमका लागि आवश्यक पूर्वतयारी गर्न सबैलाई अनुरोध गरिएको छ।

