रूस र इन्डोनेसियामा शक्तिशाली भूकम्प, बासिन्दा त्रसित
काठमाडौं,असोज ३ । रूसको सुदूर पूर्वी कामचटका प्रायद्वीप र इन्डोनेसियाको सेन्ट्रल पपुवा क्षेत्रमा शुक्रबार बिहान शक्तिशाली भूकम्प आएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। दुवै क्षेत्र प्रशान्त महासागरको ‘रिङ अफ फायर’ मा पर्ने भएकाले बारम्बार भूकम्पीय गतिविधि हुने गर्दछ।
अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) का अनुसार रूसमा ७.८ म्याग्निच्युडको भूकम्प कामचटका प्रायद्वीपको तटमा महसुस भएको हो। राजधानी पेट्रोपाभ्लोभस्क–कामचाट्स्कीबाट करिब १२८ किलोमिटर पूर्व र १० किलोमिटर गहिराइमा आएको भूकम्पका कारण भवनहरू हल्लिएका थिए। रूसी जियोफिजिकल सेवाले यसलाई ७.४ म्याग्निच्युड मापन गर्दै कम्तीमा पाँच पटक परकम्प गएको जनाएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा घरभित्रका फर्निचर, लाइट फिक्स्चरदेखि सडकमा पार्क गरिएका कारसम्म हल्लिएको देखिएको छ। सुरुमा जारी गरिएको सुनामी चेतावनी केही घण्टापछि हटाइए पनि अमेरिकी प्यासिफिक सुनामी वार्निङ सेन्टरले नजिकैको तटमा खतरनाक छाल आउन सक्ने चेतावनी दिएको थियो। गभर्नर भ्लादिमिर सोलोदोभले टेलिग्राममार्फत प्रतिक्रिया दिँदै “कामचटका बासिन्दाहरूको लचिलोपन फेरि एक पटक परीक्षण भइरहेको छ” भन्दै शान्त रहन आग्रह गरेका छन्। हालसम्म मानवीय वा भौतिक क्षतिको प्रतिवेदन प्राप्त भएको छैन।
यसैबीच, इन्डोनेसियाको सेन्ट्रल पपुवा प्रान्तमा पनि ६.१ म्याग्निच्युडको भूकम्प गएको युएसजिएसले जनाएको छ। नबिरे सहरबाट २८ किलोमिटर दक्षिणतर्फ १० किलोमिटर गहिराइमा केन्द्रित भूकम्पलाई इन्डोनेसियाको बिएमकेजी एजेन्सीले भने ६.६ म्याग्निच्युड र २४ किलोमिटर गहिराइमा आएको जनाएको छ।
प्रशान्त महासागरको ‘रिङ अफ फायर’ भूकम्पीय चापमा पर्ने इन्डोनेसिया र रूसका तटीय क्षेत्रमा निरन्तर जोखिम रहँदै आएको छ। जापानदेखि दक्षिणपूर्व एसिया हुँदै फैलिएको यस भूगर्भीय चापका कारण बारम्बार शक्तिशाली भूकम्पको सामना गर्नुपर्ने गरेको वैज्ञानिकहरूले जनाएका छन्। रासस/एएफपी

