जेनजी प्रदर्शनमा सहभागी हुन गएका हुम्लाका युवा १० दिनदेखि बेपत्ता
काठमाडौं,असोज ३। जेनजी प्रदर्शनमा सहभागी हुन गएका हुम्लाका एक युवा १० दिनदेखि बेपत्ता भएका छन्।
नाम्खा गाउँपालिका–३, खगालगाउँ स्थायी घर भई हाल काठमाडौंको तीनचुलीमा बस्दै आएका २३ वर्षीय थुक्तेन पाल्वर लामा भदौ २४ गतेदेखि सम्पर्कविहीन भएका हुन्। नारायनथान गुम्बामा लामा ज्ञान अध्ययन सकेर हाल तीनचुलीमा साथीहरूसँग बस्दै आएका लामाले भदौ २३ गते प्रदर्शनमा सहभागी भएर कोठा फर्केका थिए। तर भदौ २४ गते बिहान होटेलमा सिफ्ट सकाएर दिउँसो फेरि प्रदर्शनमा निस्किएका उनी त्यसयता फर्किएका छैनन्।
उनका बुबा टैछिरिङ लामाका अनुसार, कान्छो छोरा थुक्तेन प्रदर्शनमा निस्किएपछि सम्पर्कमा नआएको र खोजी गरिदिन आग्रह गरिएको छ।
हुम्लाको युवा बेपत्ता भएपछि नाम्ख्योम हुम्ला बौद्ध समाजका अध्यक्ष अंगबहादुर लामाले एक सूचना जारी गर्दै खोजीमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन्। साथै, बुधबार समाजका तर्फबाट उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाएर खोजीको पहल गर्न आग्रह गरिएको अध्यक्ष लामाले जानकारी दिनुभयो।

