दसैँ, तिहार र छठ लक्षित गरी पर्यटक बसमा अग्रिम टिकट बुकिङ खुला



काठमाडौं,असोज ३ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी पर्यटक बसहरूले यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरेका छन्।

टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान) का अध्यक्ष भीष्म न्यौपानका अनुसार काठमाडौँ, पोखरा, सौराहालगायत प्रमुख पर्यटकीय गन्तव्यमा यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सुरक्षित र भरपर्दो सेवा दिन अग्रिम टिकट खुला गरिएको हो। उक्त टिकट खल्ती र इसेवा लगायतका अनलाइन माध्यममार्फत काट्न सकिने व्यवस्था गरिएको छ।

हाल काठमाडौँको सोह्रखुट्टे सडकमार्गबाट २०० भन्दा बढी पर्यटक बसले विभिन्न गन्तव्यमा नियमित सेवा दिइरहेका छन्।

यता, दसैँ लक्षित आन्तरिक हवाई उडानका अधिकांश टिकट बिक्री भइसकेका छन्। यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार दसैँका लागि करिब ७० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेको छ। उनले धेरै यात्रुले टिकट अग्रिम बुकिङ गरी राखेको जानकारी दिए।

तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले भने यसवर्ष साधारण यात्रुका लागि बसको अग्रिम टिकट बुकिङ नखोल्ने निर्णय भएको बताएका छन्। उनका अनुसार जेनजी प्रदर्शनका कारण क्याम्पसहरू बन्द हुँदा अधिकांश यात्रु पहिले नै घर गइसकेकाले यसपटक अग्रिम टिकट आवश्यक नभएको देखिएको छ। उनले यात्रुहरूलाई यात्रा मितिभन्दा पाँच दिन अगाडि नै टिकट काट्न सकिने प्रावधान कायम रहेको जानकारी दिए।

यसैबीच, सरकारका तर्फबाट दसैँ, तिहार र छठलाई लक्षित गर्दै यात्रु सहजीकरणका लागि काठमाडौँ उपत्यकाका १५ स्थानमा सहायता कक्ष स्थापना गरिएको छ। बिहीबार उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले सहायता कक्षको शुभारम्भ गरेका छन्।

प्रतिक्रिया दिनुहोस्