अलैँचीको मूल्यमा गिरावट, प्रतिमन रु ८१ देखि ९२ हजारमा कारोबार



झापा,असोज ३ । नगदेबाली अलैँचीको बजार मूल्य घट्दै गएको छ। नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दीपक नेपालका अनुसार प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा आज अलैँची प्रतिमन (४० किलो) विभिन्न ग्रेडअनुसार रु ८१ हजारदेखि ९२ हजारसम्ममा कारोबार भइरहेको छ।

सबैभन्दा राम्रो गुणस्तरको ‘बोल्ड’ अलैँची प्रतिमन रु ९२ हजारमा बिक्री भइरहेको छ भने सामान्य गुणस्तरको ‘चालु’ अलैँचीको मूल्य रु ८१ हजार पुगेको छ। मध्यम गुणस्तर अर्थात् ‘जेजे’ भनेको अलैँची प्रतिमन रु ८४ हजारमा कारोबार भइरहेको अध्यक्ष नेपालले जानकारी दिनुभयो।

भदौ पहिलो साता प्रतिमन रु ९४ हजारसम्म पुगेको मूल्य अहिले घट्दै गएको हो। दसैँ नजिकिँदै गर्दा किसानले घरायसी खर्च टार्न सानो मात्रामा अलैँची बजारमा बिक्री गर्न थालेकाले मूल्यमा असर परेको अध्यक्ष नेपालले बताउनुभयो। साथै लेकाली क्षेत्रमा अलैँची धमाधम सुकाउने कार्य भइरहेको र बजारमा अझै ठूलो मात्रामा अलैँची आउने सम्भावना रहेकाले मूल्य थप प्रभावित हुने देखिएको छ।

नेपालका ४२ जिल्लामा अलैँचीखेती हुने गरेको छ। कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुममा अलैँची खेती बढी हुने गरेको छ। अलैँची व्यवसायी महासङ्घका अनुसार देशभर १७ हजार हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आएको छ, जसबाट वार्षिक आठ हजार मेट्रिक टनसम्म उत्पादन हुन्छ।

उत्पादनको पाँच प्रतिशत मात्र घरेलु खपत हुने भएकाले ९५ प्रतिशत अलैँची विदेश निर्यात हुन्छ। आर्थिक वर्ष २०८१/८२ मा मात्र काँकडभिट्टा नाकाबाट रु सात अर्ब ६७ करोड बराबरको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्