आठ हजार ८१६ कैदीबन्दी अझै फरार



काठमाडौँ,असोज ३ । गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण मुलुकभरका २७ कारागार र नौ बालसुधारगृहबाट ठूलो संख्यामा कैदीबन्दी भागेका छन्।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार मुलुकका विभिन्न २७ कारागारमा रहेका २९ हजार २१२ कैदीबन्दीमध्ये १३ हजार ५९१ जना भागेका हुन्। यस्तै, नौ वटा बालसुधारगृहमा रहेका एक हजार ४२२ मध्ये ९६४ जना फरार भएको विभागले जनाएको छ।

फरार हुनेमा झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नक्खु, जगन्नाथदेवल, डिल्लीबजार, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, कपिलवस्तु, तुलसीपुर, नौबस्ता, रुकुमपूर्व, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर कारागारका कैदीबन्दी रहेका छन्।

त्यसैगरी मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयन्डु, नौबस्ता र डोटीस्थित बालसुधारगृहबाट समेत कैदीबन्दी भागेका छन्।

विभागका अनुसार हालसम्म कारागारबाट भागेकामध्ये पाँच हजार ४९५ जना र बालसुधारगृहबाट भागेकामध्ये २४४ जना फर्किएका छन्। तर अझै आठ हजार ८१६ जना कैदीबन्दी फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको विभागले जनाएको छ।

नेपाल प्रहरीले पनि आफ्नो हिरासतबाट फरार भएका कैदीबन्दीबारे अनुसन्धान र खोजी अभियान जारी राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्