दसैँका लागि मुस्ताङ हुँदै १३ हजारभन्दा बढी भेडाच्याङ्ग्रा पठाइयो
मुस्ताङ, असोज ३ । दसैँका लागि मुस्ताङ हुँदै अन्य जिल्लामा १३ हजार ५७५ भेडाच्याङ्ग्रा पठाइएको छ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका पशु चिकित्सक लालमणि अर्यालका अनुसार कर्णाली प्रदेशको मुगु, जुम्ला र डोल्पाबाट समेत भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै बाहिरी जिल्ला लगिएको हो। तीमध्ये मुस्ताङकै किसानका ६ हजार ६०० भेडाच्याङ्ग्रा बाहिर पठाइएको र जुम्लाबाट ७७५, मुगुबाट ५०० र डोल्पाबाट ५ हजार ४०० वटा च्याङ्ग्रा निकासी गरिएको उनले जानकारी दिए।
गतवर्षको तुलनामा यस वर्ष २० प्रतिशतभन्दा बढी भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै बाहिरी जिल्लामा पठाइएको छ। यसमध्ये ५० प्रतिशत मुस्ताङकै र बाँकी ५० प्रतिशत कर्णाली प्रदेशका भेडाच्याङ्ग्रा रहेको पशु चिकित्सक डा. अर्यालले बताए।
कास्कीका व्यापारी पूर्णबहादुर रानाभाटले मुस्ताङको लोघेकर दामोदरकुण्ड–४ ताङग्याबाट मात्र २३५ वटा च्याङ्ग्रा खरिद गरी पोखरा लैजाने तयारी भएको बताए। उनका अनुसार यस वर्ष खोरमै रोज्जा च्याङ्ग्रा प्रतिगोटा ३५ हजार र माउ (च्यालु) १३ हजार रुपैयाँ पर्न गएको छ। पोखरामा बिक्री गर्दा रोज्जा च्याङ्ग्रा ४२ हजार र माउ १८ हजार रुपैयाँमा पुग्ने अनुमान गरिएको छ।
गतवर्ष २८६ वटा च्याङ्ग्रा पोखरा लगेर बिक्री गर्दा राम्रो फाइदा भएको अनुभव सुनाउँदै उनले यसवर्ष देशको परिस्थितिका कारण बजारमा माग नघट्ला भन्ने चिन्ता पनि व्यक्त गरे।
दसैँका लागि पठाइने भेडाच्याङ्ग्राको खोरमै भेटेरिनरी परीक्षण गरिएको छ। परीक्षणको प्रभाव ७२ घण्टासम्म रहने र यसले उपभोक्ताको स्वास्थ्यलाई सुरक्षित राख्ने विश्वास गरिएको छ।
यसवर्ष मात्र मुस्ताङमा सयभन्दा बढी च्याङ्ग्रा व्यापारी पुगेका छन्। यहाँबाट खरिद गरिएका च्याङ्ग्रा पोखरा, काठमाडौँलगायत सहरमा लगिन्छन् भने कतिपय व्यापारीले पैदलै खेदाउँदै म्याग्दी, पर्वत र बाग्लुङमै बिक्री गर्ने गरेका छन्।
हिमाली जिल्लामा उच्च लेक र पाटनमा पालन गरिएका च्याङ्ग्राको मासु स्वादिलो र पोषिलो हुने भएकाले दसैँमा सहर बजारका उपभोक्ताबीच यसको माग बढ्ने गरेको छ।

