पूर्वराष्ट्रपति भण्डारी : “जेनजीको नाममा हिंसात्मक विध्वंश, प्रहरीलाई आत्मबल दिनु आवश्यक”
काठमाडौँ, असोज ३ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजीको नाम अगाडि राखेर हिंसात्मक विध्वंश मच्चाउने गतिविधि भइरहेको आरोप लगाएकी छन्।
शुक्रवार जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई भेट्न प्रहरी अस्पताल पुगेकी भण्डारीले आन्दोलनबाट ठूलो क्षति भएको भन्दै नेपाल प्रहरीलाई आत्मबल प्रदान गर्नु पहिलो काम हुने बताइन्। उनले आन्दोलनमा संलग्न प्रहरीलाई बस्नका लागि आवश्यक भौतिक संरचना निर्माणको आवश्यकता पनि औंल्याइन्।
“शान्तिपूर्ण ढंगले माग राख्ने आन्दोलनको आवरणमा हिंसात्मक विध्वंश मच्चाउने काम भएको छ,” पूर्वराष्ट्रपतिले भनिन्। उनले यस्ता घटनाबारे गहिरो अध्ययन हुनुपर्ने आवश्यकता जोड दिँदै राष्ट्रिय सम्पत्तिको नोक्सानी गरेर देशको विकास नहुने स्पष्ट पारिन्।

