नुवाकोट आएका उपमहासचिव ज्ञवाली भन्छन् : संविधानले नचिनेको सरकारले चुनाव गराउनेमा शंका छ
नुवाकोट,असोज ४ । नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको संविधानले नचिनेको सरकारले चुनाव गराउनेमा शंका उत्पन्न भएको बताएका छन्।
शनिबार एमाले जिल्ला कमिटी नुवाकोटको सातौँ पूर्ण बैठकको उद्घाटन गर्दै उनले वर्तमान अवस्थाले देशमा चुनाव हुनेमा नै प्रश्न उठाएको उल्लेख गरे।
उपमहासचिव ज्ञवालीले सरकारको दलहरूप्रतिको वास्तविक धारणा स्पष्ट हुनुपर्ने आवश्यकता औंल्याउँदै भने, “संविधान जोगाउन चुनाव गर्नुपर्ने हुन्छ। लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो। संविधानको अपहरण गरेर हुँदैन।”
उनका अनुसार वर्तमान संविधान संकटमा परेको छ भने त्यसलाई जोगाउने दायित्व एमालेसहित सबै दलको हो। जनताबाट निर्वाचित जनप्रतिनिधिले १० वर्षअघि बनाएको संविधान उत्कृष्ट रहेको भन्दै उनले केही असहज परिस्थितिका नाममा यसलाई मृत शय्यामा पुर्याउन खोज्नु अधिनायकवाद भएको टिप्पणी गरे।
त्यसैगरी, पार्टीभित्र नेतृत्वका लागि अहिले नै बहस गर्ने समय नभएको प्रष्ट पार्दै ज्ञवालीले एमालेमा युवादेखि सबै पुस्ताले योगदान दिँदै आएको बताए।

