“दसैँमा घर सिङ्गार्न आउँछु” भन्ने कमल कहिल्यै फर्किएनन्
पाँचथर,असोज ४ । भदौको अन्तिम सातामा पाँचथर हिलिहाङ–२ अमरपुरमा भण्डारी परिवार शोकमा डुब्यो । वैदेशिक रोजगारी सकेर हालै मात्र फर्किएका कमल भण्डारी जेनजी आन्दोलनमा सहभागी हुँदा लागेको गोलीले ज्यान गुमाएपछि परिवारमा बज्रपात भएको हो ।
तीन वर्ष साउदी बसेर वैशाखमा नेपाल फर्किएका कमल झापामा श्रीमती सीता र पाँच वर्षका छोरा सँगै घर बनाइरहेका थिए । बाबु–आमासँग कुराकानी गर्दा उनले “दसैँसम्ममा घरको भुइँतला सकिन्छ, अनि दसैंमा घर सिँगार्न आउँछु” भनेर आश्वासन दिएका थिए । तर त्यो सपना पूरा भएन ।
भदौ २४ गते साँझ उनले “एकछिन आन्दोलनमा गएर आउँछु” भन्दै विर्तामोड गएका थिए । रातभर फोन सम्पर्क हुन सकेन । भोलिपल्ट बिहान मात्रै बिएण्डसी अस्पतालको फोन आयो– कमल गोली लागेर गम्भीर घाइते भएका रहेछन् । परिवारलाई भेट्न नदिइकनै उनले भेन्टिलेटरमा अन्तिम सास फेरे ।
भदौ २८ गते गाउँमै दाहसंस्कार गरियो । त्यसपछि परिवारको अवस्था झन् मार्मिक भएको छ । बूढा बाबु गणेश बिरामी छन्, आमा खगमायाको कान राम्रोसँग सुन्दैनन्, गर्भवती श्रीमती अर्धचेत अवस्थामा छिन् । पाँच वर्षका छोरा बाबुलाई खोज्छन् तर जवाफ कसरी दिने भन्नेमा परिवार असहाय छ ।
भाइ पवन भन्छन्, “भाउजूलाई झापा लैजाने भनेर घर बनाउन थालेका दाइ आज अस्ताउनुभयो । घर अधुरै रोकिएको छ ।”
शहीद घोषणा गरिए पनि अहिलेसम्म जनप्रतिनिधि वा नेताहरू भेट्नै नआएको परिवारको गुनासो छ । राहतबारे जानकारीसमेत उनीहरूलाई छैन । “देश बदल्छ भनेर आन्दोलनमा प्राण दिए पनि वास्ता गर्ने कोही भएन,” बहिनी मायाले दुखेसो पोखिन् ।
कमल दसैँमा नयाँ घर सिँगार्न गाउँ फर्किने योजना बोकेका थिए, तर आज परिवार र गाउँ शोकमा डुबेको छ । आठ वर्ष खाडीमा पसिना बगाएर जग्गा किनेर घर बनाउन लागेका उनी आफ्नै देशमा आन्दोलनकै क्रममा बन्दुकको गोलीले ढले ।

