कोशी, मधेश, बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना
काठमाडौं, असोज ४। हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वतर्फ सरदर स्थानको आसपास अवस्थित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शनिबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने तराईका अन्य भू–भागमा आंशिक बदली रहनेछ।
यस्तै, कोशी र बागमती प्रदेशका केही स्थानमा, मधेश र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

