चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डमा लगातार पहिरो, आवागमन जोखिमपूर्ण
चितवन, असोज ४। लगातार एक सातादेखि चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डमा एक दर्जनभन्दा बढी स्थानमा पहिरो खस्दा आवागमन जोखिमपूर्ण बनेको छ। मुख्यतया तुइनखोला, नाम्सी, कालीखोला लगायतका स्थानमा बारम्बार पहिरो खस्दा यात्रु र सवारीसाधनलाई कठिनाइ थपिएको छ।
गत सातामात्रै पहिरोमा परी एक जनाको मृत्यु भएको थियो। मङ्गलबार नाम्सी पुलनजिक माथिबाट खसेको ढुङ्गाले ग २ ख १८३६ नम्बरको बसमा सवार लमजुङकी ४६ वर्षीया ऐश्वर्या कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो।
सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार पानी नपरेको बेला पनि पहिरो खस्ने घटना दोहोरिइरहेकाले यात्रा सम्भव भएसम्म वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिइएको छ। “हरेक दिन केही समय बाटो अवरुद्ध हुने गरेको छ। जोखिम उच्च भएकाले यात्रामा सतर्कता आवश्यक छ,” उहाँले भन्नुभयो।
उहाँका अनुसार तुइनखोला, चिसेन्जी, नाम्सी, सेती दोभान, सत्र किलो, जलवीरेलगायतका स्थानमा पहिरो खसेको छ। सडक विस्तारपछि तुइनखोलाको करिब ३० मिटर लम्बाइ र १५० मिटर उचाइको पहाड कमजोर बनेको बताइएको छ।
सडक डिभिजन कार्यालयले जोखिमयुक्त स्थानमा रोकथामका काम सुरु गरेको छ। तुइन, नाम्सी र कालीखोलाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको र मङ्सिरमा ठेक्का आह्वान गर्ने तयारी भइरहेको इन्जिनियर घिमिरेले जानकारी दिनुभयो।
रोकथामका लागि ढुङ्गा खस्ने ठाउँमा रक नेट र रक बोल्ट, तथा लेदोसहितको पहिरो आउने क्षेत्रमा फ्लेक्जिबल चेक ड्याम निर्माण गरिने छ। यस प्रविधिबाट माटो र ढुङ्गा रोकेर पानी मात्र बग्न दिने योजना बनाइएको छ।
हाललाई तत्काल खसेका पहिरो पन्छाउने काम निरन्तर भइरहेको छ। नाम्सीखोला र कालीखोलामा रहेका दुईवटा पुलमध्ये एकमा क्षति भएमा अर्को प्रयोग गर्ने तयारी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ।

