देशभर ६ महिनामा ३ हजार ६८१ विपद्का घटना, २४३ जनाको मृत्यु



काठमाडौं, असोज ४ । गत वैशाखदेखि हालसम्म देशभर कूल ३,६८१ वटा विपद्का घटना दर्ता भएका छन् । यी घटनाबाट ६,५९० घरपरिवार प्रभावित भएका छन् भने २४३ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा ८६९ जना घाइते र २४ जना बेपत्ता भएका छन् ।

सबैभन्दा धेरै आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ । १,२९५ वटा आगलागी हुँदा २३ जनाको मृत्यु र १७७ जना घाइते भएका छन् । यसबाट १,४११ घरपरिवार प्रभावित भएका छन् ।

त्यस्तै, बाढीका २६३ घटनामा २९ जनाको मृत्यु, २३ जना बेपत्ता, १४ जना घाइते र १,८६१ परिवार प्रभावित भएका छन् । सो अवधिमा ४६३ पहिरोका घटना हुँदा २४ जनाको मृत्यु र ४१ जना घाइते भएका छन् ।

भारी वर्षाका मात्रै ३४० घटना हुँदा ६ जनाको मृत्यु, १४ जना घाइते र ८११ परिवार प्रभावित भएका छन् । चट्याङका २९० घटनामा ३८ जनाको मृत्यु र २१२ जना घाइते भएका छन् ।

यस्तै, सर्पदंशका ३०४ घटनामा ७७ जनाको मृत्यु र २३३ जना घाइते भएका छन् । वन डढेलोका १८५ घटनामा दुई जना घाइते भएका छन् भने २७ परिवार प्रभावित भएका छन् ।

हावाहुरीका २८४ घटनामा ८ जनाको मृत्यु, ४४ जना घाइते र ५४१ परिवार प्रभावित भएका छन् । त्यसैगरी जनावर आक्रमणका २१७ घटनामा २० जनाको मृत्यु, ८८ जना घाइते र ३६६ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

विपद् न्यूनीकरणका लागि सचेतना अभियान सञ्चालन, पूर्वसावधानी र पूर्वसूचना प्रणालीलाई थप व्यवस्थित बनाइएको प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्