गोरखामा बोलेरो ठक्करबाट एक पुरुषको मृत्यु



गोरखा, असोज ४ । गोरखामा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरानचोक गाउँपालिका–२ स्थायी घर भई हाल गोरखा नगरपालिका–७, नयाँ बसपार्क बस्ने ५२ वर्षीय शिव मजाकोटी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक सरोज कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबार बिहान करिब ९:३० बजे गोरखा नगरपालिका–७, नयाँ बसपार्कमा ना.४ च.८३९१ नम्बरको बोलेरोले बाटोमा हिँडिरहेका मजाकोटीलाई ठक्कर दिएको थियो । घाइते अवस्थामा अस्पताल पुर्‍याइएका उहाँको शुक्रबार साँझ करिब ११ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक मजाकोटीका आफन्त तेजबहादुर नेपालीको नेतृत्वमा गएको टोलीले जिल्ला प्रहरी कार्यालयमा पुगेर सत्यतथ्य छानबिन, दोषीलाई कडा कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेका छन् ।

प्रहरीका अनुसार मृतकका आफन्त र बोलेरो साहुबीच छलफल भई सहमति भएपछि शव बुझ्ने तयारी भएको छ । सहमति पश्चात पोस्टमार्टम गरी शव परिवारलाई बुझाइने प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।

यसअघि मृतक परिवारले सत्यतथ्य छानबिनको माग गर्दै शव बुझ्न अस्वीकार गरेका थिए । तर सम्बन्धित निकाय र परिवारबीच सहमति भएपछि शव बुझ्न राजी भएका हुन् ।

घटनापछि बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्