जेन–जी आन्दोलनबाट बागमती प्रदेश सभा भवन पूर्णरूपमा क्षतिग्रस्त



हेटौंडा, असोज ४ । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी जेन–जी आन्दोलनका क्रममा प्रदेश सभा भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । हालै सञ्चालनमा ल्याइएको अस्थायी भवनसहित पुरानो भवन दुवै आन्दोलनकारीको निशानामा परेपछि करिब ३० देखि ३५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आँकलन गरिएको छ ।

प्रदेशसभासँग सम्बन्धित अन्य संरचनामध्ये सबैभन्दा ठूलो क्षति यही भवनमा भएको प्रदेशसभा सचिवालयले जनाएको छ । आगजनीका कारण पाँच वटा भवन, तीनवटा चारपाङ्ग्रे गाडी, छ वटा मोटरसाइकल र कार्यालयका अधिकांश सामग्री ध्वस्त भएको प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो ।

भवनका ढोका, झ्याल, बैठक कक्ष, अभिलेख कोठा लगायत महत्वपूर्ण संरचना जलेर नष्ट भएका छन् भने काँग्रेस संसदीय दलको कार्यालयबाहेक अन्य संसदीय दलका कार्यालयमा पनि आगजनी र तोडफोड भएको छ । दलका अभिलेख, कागजात र उपकरणसमेत क्षतिग्रस्त भएको विवरण आएको छ ।

गत साउन २७ गते मात्रै उद्घाटन गरिएको १२ करोड २९ लाख रुपैयाँ लागतको नयाँ भवनमा जम्मा तीनवटा बैठक सम्पन्न हुन पाएका थिए । २०७७ मंसिर १० गते शिलान्यास गरेर निर्माण सुरु गरिएको भवन करिब सात वर्षमा तयार भएको थियो । तर आन्दोलनको दोस्रो दिनै भवनमा आगजनी भएपछि पूर्णरूपमा ध्वस्त भएको हो ।

प्रदेशसभा भवन नष्ट भएपछि तत्काल बैठक सञ्चालन गर्ने स्थान अभाव भएको छ । यसका लागि पार्किङमा प्रयोग हुँदै आएको जस्ताको टहरोलाई अस्थायी बैठक स्थल बनाउने तयारी भइरहेको प्रवक्ता गुप्ताले बताउनुभयो ।

उहाँका अनुसार क्षतिग्रस्त भवनको सूक्ष्म प्राविधिक अध्ययन भइरहेको छ र ईन्जिनियरको प्रतिवेदनको आधारमा मात्र मर्मत तथा पुनर्निर्माण अघि बढाइनेछ । तर हाल विनियोजित बजेट अभावका कारण पुनर्निर्माणमा समय लाग्ने स्पष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्