जेनजी आन्दोलनपछि सिंहदरबारमा धमाधम मर्मत र रङरोगन



काठमाडौँ, असोज ४ । जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट खण्डहरझैं बनेको सिंहदरबारलाई पुरानै स्वरूपमा फर्काउन धमाधम मर्मतसम्भार र रङरोगनको काम सुरु गरिएको छ । आगलागी र तोडफोडका कारण ध्वस्त बनेको राजनीतिक र प्रशासनिक केन्द्र सिंहदरबार हाल पुनःनिर्माण र मर्मतका कामले चहलपहल बढेको छ ।

आगोले जलेर कालो बनेका भित्तामा पानी पखाल्दै रङ लगाइँदै छ भने जलेर क्षतिग्रस्त भएका झ्याल, ढोका र फर्निचरको मर्मतसम्भार पनि सँगसँगै भइरहेको छ । करिब एक हजार सवारी साधन क्षतिग्रस्त भएकाले त्यसलाई हटाउने र व्यवस्थापन गर्ने काम पनि जारी छ ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले सिंहदरबार पुनःनिर्माणलाई प्राथमिकतामा राख्दै तत्कालै मर्मत र पुनःनिर्माण गर्ने निर्णय गरेको हो । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले “सिंहदरबारलाई रङरोगन गरेर देश विनाशबाट छिट्टै उठेको सन्देश दिनुपर्ने” भन्दै केही महिनाभित्रै पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।

विशेष परिस्थिति भएकाले आवश्यक कर्मचारी खटाइएको सङ्घीय सचिवालय, निर्माण तथा व्यवस्थापन कार्यालयका सुपरिटेन्डेन्ट इन्जिनियर चक्रवर्ती कण्ठले बताए । उहाँका अनुसार अर्थ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रङरोगन आफ्नै पहलमा सुरु गरे पनि बाँकी मन्त्रालय र कार्यालयको काम कार्यालयमार्फत अघि बढाइएको छ ।

गत भदौ २४ मा भएको प्रदर्शनका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, संघीय मामिला, कृषि, भौतिक पूर्वाधार, शिक्षा, ऊर्जा, सहरी विकास र अर्थ मन्त्रालयमा ठूलो क्षति पुगेको थियो । साथै, प्रमुख राजनीतिक दलका कार्यालयमा समेत आगजनी र तोडफोड भएको थियो ।

हाल बिदाका दिन समेत श्रमिक खटाई मर्मत र रङरोगनको काम भइरहेको छ । केही मन्त्रालयमा भने सामान्य मर्मत पर्याप्त नहुने भएकाले पूर्ण पुनःनिर्माण गर्नुपर्ने अवस्था देखिएको छ । विशेषगरी गृह र स्वास्थ्य मन्त्रालयमा व्यापक क्षति भएकाले पुनःनिर्माण गर्ने तयारी भइरहेको छ ।

यसैबीच, सिंहदरबार परिसरमा जलेर नष्ट भएका सवारीसाधन पन्छ्याउने र व्यवस्थापन गर्ने काम पनि जारी छ । जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त भए पनि नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय योजना आयोग भने जोगिन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्