चाडबाड लक्षित यातायात व्यवस्थापनबारे मन्त्री घिसिङको निर्देशन
काठमाडौँ, असोज ४ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन सहज बनाउन तथा सडक सुरक्षाबारे आज सरोकारवालासँग छलफल गर्नुभएको छ ।
छलफलपछि मन्त्री घिसिङले यात्रुहरुलाई २४ घण्टा सडक अवस्थाबारे जानकारी दिने, गुनासो सुन्ने र तत्काल समाधान गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । साथै बाढी–पहिरोले अवरुद्ध सडकलाई तत्काल सञ्चालनमा ल्याउन पनि उहाँले जोड दिनुभयो ।
मन्त्रीको सचिवालयका अनुसार बैठकमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने सार्वजनिक सवारी साधनलाई नागढुङ्गा–सिस्नेरी–सुरुङमार्गमार्फत आवागमन गराउने र दसैँपछि त्यस्तै साधनलाई उपत्यकामा प्रवेश गर्न दिने निर्णय भएको छ ।
यस्तै, नयाँ बसपार्क र विभिन्न राजमार्गमा सुरक्षा व्यवस्था कडाइ गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने, प्रहरी गस्ती र संख्या बढाउने सहमति बैठकमा भएको छ ।
दसैँ अवधिभर बुटवल–नारायणघाट सडक खण्डको दाउन्ने भागमा ठूला भारबाहक सवारी (१२ चक्के वा सोभन्दा माथिका) सञ्चालन नगर्न आग्रह गरिएको छ । तर खाद्यान्न तथा अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीलाई भने आवागमनको व्यवस्था मिलाइने जनाइएको छ ।
सडक विभागलाई मुख्य सडक सुधार, पहिरो व्यवस्थापन, आवश्यक सामग्री तथा उपकरणको तयारी, दाउन्ने खण्डमा २४ सै घण्टा दुईतर्फी यातायात सञ्चालन, नारायणगढ–मुग्लिन सडकको तुइन खोलामा भएको अवरोध तत्काल हटाउने र तातोपानी नाकासम्मको सडक दसैँअघि सञ्चालनमा ल्याउन निर्देशन दिइएको छ ।
साथै, यात्रुहरूले मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गर्ने सार्वजनिक सूचना जारी गर्ने र मुलुकभर २४ घण्टा ‘फोकल पर्सन’ परिचालन गरी सडक अवस्थाबारे जानकारी दिने व्यवस्था मिलाउने निर्णय पनि भएको छ ।
बैठकमा मन्त्रालयका सचिव, यातायात व्यवस्था विभाग र सडक विभागका महानिर्देशक, नेपाल प्रहरी तथा यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

