जेनजी आन्दोलनमा पाथीभरा क्षेत्रमा रेस्क्यू हाउस र टि हाउसमा आगजनी, साढे एक करोड बढी क्षति
ताप्लेजुङ, असोज ४ । जेनजी आन्दोलनको क्रममा ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा निर्माण गरिएको रेस्क्यू हाउस (आपतकालीन उपचार कक्ष) र टि हाउस (चिया घर) भवनमा अज्ञात समूहले आगजनी गर्दा साढे एक करोड बढीको क्षति भएको छ ।
पाथीभरा धाम प्रवेशद्वार नजिक रहेका संरचनामा आगजनी हुँदा करिब रु. १ करोड ५५ लाख १८ हजार बराबरको क्षति पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
गत भदौ २३ र २४ गते देशव्यापी जेनजी आन्दोलनको क्रममा केही अराजक समूहले भदौ २६ गते राति सो भवनमा आगो लगाएको समितिका कार्यकारी निर्देशक प्रजित हाङबाङले जानकारी दिनुभयो । उहाँका अनुसार करिब एक करोड रुपैयाँ बराबरको एसवाई प्यानलबाट निर्मित भवन जलेर नष्ट भएको छ ।
यस्तै, करिब ५० लाख रुपैयाँ बराबरको अर्को एसवाई प्यानल भवन, रु. १ लाख २० हजारको जेनेरेटर, रु. १ लाख ३५ हजार बराबरका ब्लाङ्केट, रु. १६ हजारको बेड म्याट, रु. १ लाख ५० हजार बराबरको काठको खाट, रु. २५ हजारको टि टेबल, रु. ४२ हजारको प्लास्टिक कुर्सी, रु. ३० हजार बराबरका भाँडाकुँडा तथा कुकर जलेर नष्ट भएको बताइएको छ ।
संरचना निर्माणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोग रहेको थियो । आर्थिक वर्ष २०७८/७९ को योजनाअन्तर्गत टि हाउस र रेस्क्यू हाउस निर्माण गरिए पनि सञ्चालनमा ल्याउन नपाउँदै आगजनीमा परेको समितिले जनाएको छ । रेस्क्यू हाउसमा सिलिन्डर विस्फोट गराएर क्षति पु¥याइएको र टि हाउसलाई पूर्णरूपमा ध्वस्त पारिएको समितिको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले आगजनीमा संलग्नको खोजी भइरहेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।

