अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिद्वारा विभिन्न देशका लागि दसैँ टीकाको साइत सार्वजनिक
काठमाडौँ, असोज ५ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको विजयादशमी (दसैँ) टीका लगाउने शुभ साइत विभिन्न देशका लागि सार्वजनिक गरेको छ । समितिको शनिबार यहाँ बसेको बैठकले वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूको मागअनुसार तिथ्यादि र स्थानीय मानअनुसार सम्बन्धित देशको स्थानीय समयमै साइत तोकेको हो ।
समितिका सदस्य–सचिव आचार्य लक्ष्मण पन्थीका अनुसार नेपाललगायत विदेशमा बसोबास गर्ने धर्मावलम्बीहरूले जिज्ञासा राखेकाले यसपटक विस्तृत रूपमा साइत सार्वजनिक गरिएको हो ।
समितिका अध्यक्ष प्रा.डा. माधव भट्टराईका अनुसार नेपालमा असोज १६ गते (अक्टोबर २) बिहान ११:५३ बजे टीका लगाउने साइत शुभ मानिएको छ । यस्तै दिल्ली (भारत) का लागि सोही दिन बिहान ११:४९ बजे, न्युयोर्क (अमेरिका) का लागि अक्टोबर १ का दिन बिहान ११:२५, टेक्सासका लागि ११:३३, वासिङ्गटन डिसीका लागि ११:३५, क्यालिफोर्नियाका लागि ११:११, कोलोराडोका लागि ११:२९, टोरेन्टो (क्यानडा) का लागि अक्टोबर १ मा ११:५५, टोकियो (जापान) का लागि अक्टोबर २ मा ११:३१, सिड्नी (अष्ट्रेलिया) का लागि सोही दिन ११:४३, बेलिङ्गटन (न्यूजिल्याण्ड) का लागि ११:२३ बजेको समय शुभ हुने बताइएको छ ।
यस्तै, लण्डन (बेलायत) का लागि अक्टोबर २ बिहान ०९:१७, पेरिस (फ्रान्स) का लागि ०९:५७, ओस्लो (नर्वे) का लागि १०:०३, क्वालालम्पुर (मलेसिया) का लागि ११:११, अवुधावी (युएई) का लागि १०:५५, दोहा (कतार) का लागि १०:१३, बैंकक (थाइल्याण्ड) का लागि १०:४५, सियोल (दक्षिण कोरिया) का लागि १०:५७, तेल अभिभ (इजरायल) का लागि ११:३५, हङकङका लागि ११:४५, जेनेभा (स्विट्जरल्याण्ड) का लागि १०:२५ र माल्टाका लागि बिहान १०:५५ बजेको साइत शुभ रहने समितिका उपाध्यक्ष प्रा.डा. देवमणि भट्टराईले जानकारी दिनुभयो ।
समितिले स्पष्ट पारेको छ कि सबै देशका शुभ साइतहरू त्यहाँको स्थानीय समयअनुसार तोकिएका हुन्, जसअनुसार धर्मावलम्बीहरूले विजयादशमीमा टीका–जमरा ग्रहण गर्न सक्नेछन् ।

