हमासद्वारा बाँकी ४६ बन्धकको तस्वीर सार्वजनिक, ‘विदाइ’ सन्देशसँगै नेपाली विपिन जोशी पनि सूचिमा
काठमाडौँ, असोज ५ । हमासको सशस्त्र शाखा एजेदिन अल–कसम ब्रिगेडले गाजामा अझै कैदमा रहेका ४६ बन्धकको तस्वीर सार्वजनिक गर्दै उनीहरूको ‘विदाइ’ हुनसक्ने चेतावनी दिएको छ। गाजा शहरमा इजरायलले गरेको तीव्र आक्रमणका कारण बाँकी बन्धकहरूको जीवन संकटमा परेको दाबी गरिएको हो।
शनिवार सार्वजनिक गरिएको तस्वीरमा नेपाली नागरिक विपिन जोशीको पनि तस्बिर समावेश गरिएको छ। हमासले प्रकाशित गरेका प्रत्येक तस्वीरसँग सन् १९८६ मा लेबनानमा खसेर मृत मानिएका इजरायली वायुसेनाका चालक रोन अरादको नाम जोडिएको छ। अरादलाई त्यसबेला कब्जा गरिए पनि उनको अवशेष अझै फिर्ता भएको छैन।
इजरायली सेनाका अनुसार सन् २०२३ अक्टोबरमा इजरायलमाथि भएको हमासको आक्रमणमा २५१ जनालाई कब्जा गरिएको थियो। तीमध्ये ४७ जना अझै गाजामा छन् भने २५ जनाको मृत्यु भइसकेको दाबी छ।
हमासले तस्वीर सार्वजनिक गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको जिद्दीपन र सेनाप्रमुख इयाल जमिरको गाजा अधीनमा राख्ने रणनीतिका कारण बन्धकहरूको जीवन खतरा बढेको आरोप लगाएको छ।
गाजा शहरमा इजरायलले हप्तौँको हवाई आक्रमणपछि मंगलबारदेखि जमिनी आक्रमण सुरु गरेको छ। यस क्रममा लाखौँ बासिन्दा विस्थापित भएका छन्।
यसैबीच, बन्धक परिवारहरूले सरकारलाई आक्रमण रोक्न आग्रह गर्दै कैदमा रहेका आफ्ना प्रियजनहरूको जीवन जोगाउन तत्काल कदम चाल्न चेतावनी दिएका छन्।

