काठमाडौँको रातोपुलबाट सुनचाँदीका गरगहना र नगदसहित तीन जना पक्राउ



काठमाडौँ, असोज ५ । प्रहरीले सुनचाँदीका गरगहना चोरीको अभियोगमा काठमाडौँको रातोपुलबाट तीनजनालाई पक्राउ गरेको छ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा रातोपुलस्थित एक घरमा भएको चोरी प्रकरणको अनुसन्धान गर्ने क्रममा शंकास्पद गतिविधि गरिरहेका ती व्यक्तिहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

पक्राउ पर्नेमा खोटाङका २७ वर्षीय सुजन राई, सिन्धुपाल्चोकका १९ वर्षीय नयुन श्रेष्ठ र मकवानपुरका १८ वर्षीय अगम प्रजा रहेका छन्। उनीहरूको साथबाट सुनचाँदीका गरगहना, नगद १३ हजार रुपैयाँ र लत्ताकपडा बरामद गरिएको परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिनुभयो।

पक्राउ परेकामाथि जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्