नेपालगन्जमा खसीबोकाको मोलमोलाइ विवादमा एकको मृत्यु, चार जना पक्राउ



नेपालगन्ज, असोज ५ । नेपालगन्ज–५ बेहनाटोलमा खसीबोकाको मोलमोलाइ गर्ने क्रममा ग्राहक र बिक्रेताबीच विवाद हुँदा भएको झडपमा एक जनाको ज्यान गएको छ।

मृत्यु हुनेमा स्थानीय ५२ वर्षीय जाँगिर अलि बेहना रहेका छन्। नातेदारबीचको विवादले हिंसात्मक रूप लिँदा घाइते भएका उनलाई उपचारका लागि भेरी अस्पताल पुर्याइएको थियो। तर, शुक्रबार मध्यान्ह २ बजे उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मोलमोलाइकै विषयमा सालाभेनाबीच वादविवाद बढ्दै गएपछि झडप भएको हो।

घटनापछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा मुस्ताक अलि बेहना, इसराक अलि बेहना, चाँद बाबु बेहना र सेराज अलि बेहना रहेका छन्। बाँके प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। थप संलग्नता र घटनाको सम्पूर्ण विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्