जेनजी आन्दोलनमा सहभागी हुम्लाका युवक ११ दिनदेखि बेपत्ता



काठमाडौँ, असोज ५ । हुम्ला घर भई हाल काठमाडौँमा बस्दै आएका थुक्तेन पाल्वर तामाङ ११ दिनदेखि बेपत्ता भएका छन्।

हुम्लाको नाम्खा गाउँपालिका–३ खगालगाउँ स्थायी घर भएका र हाल काठमाडौँको तीनचुलीमा बस्दै आएका २४ वर्षीय तामाङ भदौ २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलनमा सहभागी भएपछि सम्पर्कविहीन भएको परिवारले जनाएको छ।

उनका बुबा टसी छिरिङका अनुसार तामाङ भदौ २३ गतेको प्रदर्शनमा सहभागी भएर कोठा फर्किएका थिए। तर, २४ गते बिहान सिफ्टको काम सकेर दिउँसो २ बजे कोठाबाट प्रदर्शनमा जान निस्केका उनी त्यसपछि फिर्ता नभएको परिवारले बताएको छ।

“बौद्धमा भएको आन्दोलनमा सहभागी हुन निस्केका छोरा त्यसयता बेपत्ता छन्,” बुबा टसी छिरिङले बताउनुभयो। परिवारले ११ दिनसम्म काठमाडौँका विभिन्न ठाउँमा खोजी गरे पनि कतै फेला नपरेको छ।

बेपत्ता युवकका दुई छोरामध्ये तामाङ कान्छा पुत्र रहेको परिवारले जनाएको छ।

यसैबीच, नाम्ख्योम हुम्ला बौद्ध समाजका अध्यक्ष अंगबहादुर लामाले एक सूचना जारी गर्दै खोजीका लागि आग्रह गरेका छन्। समाजको तर्फबाट बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाउँदै बेपत्ता युवाको खोजीका लागि पहल गर्न माग गरिएको अध्यक्ष लामाले जानकारी दिनुभयो।

तामाङले नारायनथान गुम्बामा लामा अध्ययन सकेपछि काठमाडौँको तीनचुलीमा भतिजोसँग कोठा लिएर बस्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्