आज अपराह्न श्राद्धसहित पितृपक्ष सम्पन्न, घटस्थापनासँगै दुर्गापक्ष सुरु हुँदै
काठमाडौँ, असोज ५ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज (आइतबार) अपराह्न दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सम्पन्न हुँदैछ।
पितृपक्ष १५ तिथि र आश्विन शुक्ल प्रतिपदासहित सोह्र दिनसम्म दिवङ्गत पितृलाई सम्झेर गर्ने तर्पण, सिदादान र पिण्डदानलाई सोह्रश्राद्ध पनि भनिन्छ।
धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार आज श्राद्ध गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म गर्न सकिन्छ। अझै कारणवश रोकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजासम्म, नभए मङ्सिर महिनासम्म श्राद्ध गर्न सकिने उल्लेख छ।
धर्मशास्त्रका ग्रन्थहरूमा पितृपक्षका बेलामा दिवङ्गत पितृहरू पिण्ड र जलको आशले मत्र्यलोकमा झर्ने विश्वास गरिएको छ। यस अवसरमा श्राद्ध नगरेमा पितृ असन्तुष्ट हुने र दोष लाग्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्हरूको भनाइ छ।
आजको औँसी तिथिमा गोकर्णेश्वर, बेत्रावती, देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पितृप्रति श्रद्धा अर्पण गर्नेको घुइँचो लागेको छ।
पितृपक्ष सम्पन्न भएसँगै अब वैदिक सनातन परम्पराअनुसार दुर्गापक्ष अर्थात् बडादसैँ सुरु हुने भएको छ। असोज ६ गते सोमबार घटस्थापनासँगै दुर्गापक्ष प्रारम्भ हुनेछ।

