सिंहदरबारमा आगजनीपछिको द्रुत मूल्याङ्कन सुरु, धुवाँले कालो भएका भवनमा रङरोगन
काठमाडौँ, असोज ५ । भदौ २४ गते जेनजी समूहको नाममा भएको आगजनी, तोडफोड र लुटपाटपछिको क्षतिग्रस्त अवस्थाबारे सिंहदरबार परिसरभित्र ‘आगजनीपछिको द्रुत विश्लेषण’ (र्यापिड भिजुअल एसिसमेन्ट) सुरु गरिएको छ।
सिंहदरबार संघीय सचिवालय, निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कण्ठका अनुसार क्षतिग्रस्त भवनको भित्तो, छत, खम्बा, इँटा आदिको अवस्था अध्ययन गरेर कुन संरचना प्रयोग गर्न मिल्छ, कुन पुनर्निर्माण गर्न सकिन्छ वा भत्काउनुपर्छ भन्ने निष्कर्ष निकाल्ने कार्य भइरहेको छ। सहरी विकास मन्त्रालयका प्राविधिक टोलीमार्फत एक हप्ताभित्र ‘एसिसमेन्ट’ सक्ने योजना छ भने आवश्यक परे बाहिरी विज्ञको सहयोग पनि लिइनेछ।
प्रमुख कण्ठले आगजनीपछिको पुनर्निर्माण वा मर्मतको प्रक्रिया सुरु गर्नु अघि विश्वव्यापी अभ्यासअनुसार ‘र्यापिड भिजुअल एसिसमेन्ट’ अनिवार्य हुने बताए। “यसले क्षतिको यथार्थ विवरण दिन्छ र त्यसैको आधारमा कुन संरचनाको पुनर्निर्माण तत्काल गर्ने, कुन ढाँचामा गर्ने वा प्रबलीकरण गर्ने भन्ने टुंगो लाग्छ,” उहाँले भन्नुभयो।
तत्कालका लागि रङरोगन
आगजनीबाट कालो देखिएका भित्ताहरूलाई अस्थायी रूपमा रङरोगन गर्ने काम सुरु गरिएको छ। सहरी विकासमन्त्री कुलमान घिसिङको निर्देशनअनुसार कालोपन हटाउन अघिल्लै रङ प्रयोग गरी मर्मत सुरु गरिएको प्रमुख कण्ठले जानकारी दिए। अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयले आफ्नै पहलमा रङरोगन थालेका छन् भने अन्य मन्त्रालयका भवनमा निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत काम भइरहेको छ।
बढी क्षति भएका भवनहरू
आगजनी र तोडफोडबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पश्चिमी भाग, गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बढी क्षति पुगेको छ। त्यस्तै भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला, कृषि तथा पशुपन्छी, ऊर्जा, अर्थ मन्त्रालयलगायतका भवनमा समेत क्षति पुगेको कार्यालयले जनाएको छ।
सिंहदरबारभित्रका कांग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यालयमा पनि आगजनी र तोडफोडका कारण क्षति पुगेको छ। तर सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, पर्यटन, रक्षा, कानुन, वन, उद्योग, महिला तथा बालबालिका मन्त्रालयहरूमा भने सामान्य क्षति पुगेको छ।
यसैबीच, रेडियो नेपाल, नेपाल टेलिभिजन र राष्ट्रिय योजना आयोगको भवन भने सुरक्षित रहेको जनाइएको छ।

