दाउन्ने सडकखण्डमा निरन्तर जाम, यात्रु दसैँमा पनि सास्ती खेप्न बाध्य
नवलपुर, असोज ५ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा निरन्तर सडक अवरोध र लामो जाम हुँदा यात्रुहरू दसैँमा पनि सास्ती खेप्न बाध्य भएका छन्। भैरहवाबाट भरतपुर बिरामी लिएर गइरहेका एम्बुलेन्स चालकदेखि भारतबाट सामान ल्याउने लरीचालक र घर फर्कने विद्यार्थीसमेत सबैजना घण्टौँसम्म अलपत्र परेका छन्।
बर्दघाटदेखि दुम्कीबाससम्मको झन्डै १४ किलोमिटर क्षेत्रमा तीन दिनमै तीन पटक सडक पूर्ण रूपमा अवरुद्ध हुँदा लामो जाम सिर्जना भएको छ। दाउन्ने सडक विस्तारको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिको ढिलासुस्ती र लापरबाहीका कारण यात्रा सहज हुन सकेको छैन।
त्रिभुवन विश्वविद्यालयको क्याम्पस बिदा र दसैँ नजिकिँदै गर्दा यात्रुको चाप बढ्दो क्रममा छ। तर दाउन्नेको १४ किलोमिटर खण्ड पार गर्न सवारीसाधनलाई १० देखि १६ घण्टासम्म समय लाग्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ। एम्बुलेन्सदेखि शववाहनसम्म जाममा फस्दा यात्रु तथा बिरामी थप मारमा परेका छन्।
नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले ठेकेदार कम्पनीलाई दसैँअघि काम सक्न निर्देशन दिए पनि काममा गति नआएको बताउनुभयो। सडक विभागले समेत दसैँअघि अन्य संरचना निर्माण हुने सम्भावना कमजोर रहेको जनाएको छ।
हालसम्म बर्दघाटतर्फ तीन किलोमिटर कालोपत्रे भइसकेको छ भने थप तीन किलोमिटरमा ढलानको काम सम्पन्न भएको छ। बाँकी छ किलोमिटर खण्डले यात्रुलाई सास्ती दिइरहेको छ। ठेकेदार कम्पनीका अनुसार हालसम्म ७० प्रतिशत प्रगति भए पनि पछिल्लो दुई महिनामा मात्र दुई प्रतिशत काम भएको छ।

