नेप्सेमा १११ अंकको वृद्धि, ९ अर्बभन्दा बढीको कारोबार
काठमाडौँ, असोज ५ । गत हप्ताको अन्तिम कारोबार दिन नकारात्मक सर्किट लागेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १११.७० अङ्कले बढ्दै ४.४४ प्रतिशतले वृद्धि भएको छ।
नेप्से अनुसार आज ३२९ कम्पनीको दुई करोड ३२ हजार २२४ कित्ता शेयर एक लाख आठ हजार ९०८ पटक खरिद–बिक्री हुँदा नौ अर्ब १७ करोड ९५ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आज म्युचुअल फन्ड ०.७१ प्रतिशत र निर्जीवन बीमा ४.०२ प्रतिशतले घटे पनि अरु सबै समूहको उपसूचक बढेका छन्। सबैभन्दा बढी व्यापार समूह ८.६६ प्रतिशतले वृद्धि भएको छ। त्यसपछि बैंकिङ ४.५२, विकास बैंक ६.०७, वित्त ५.५४, होटल तथा पर्यटन २.३३, जलविद्युत् ५.८३, लगानी ७.६८, उत्पादन तथा प्रशोधन ४.८५, लघुवित्त ३.६९ र अन्य समूह १.५३ प्रतिशतले बढेका छन्।
आजको कारोबारमा १३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा बढी गुमाउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य ७.६४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड अगाडि रह्यो जसको ८३ करोड १३ लाख ५५ हजार ९१० रुपैयाँ बराबरको शेयर किनबेच भयो। त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा कुमारी बैंक लिमिटेड अगाडि रह्यो जसको नौ लाख १४ हजार ३६ कित्ता शेयर खरिद–बिक्री भएको छ।

