मन्त्री घिसिङ र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहकार्यबारे छलफल



काठमाडौँ, असोज ५ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ।

भेटमा भारतीय राजदूत श्रीवास्तवले नवनियुक्त मन्त्री घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। यस अवसरमा नेपाल–भारत ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहकार्य, भारतीय सहयोगमा निर्माणाधीन आयोजनाको प्रगति तथा आगामी योजनाबारे विस्तृत छलफल भएको ऊर्जा मन्त्रालयले जनाएको छ।

भेटवार्तामा महाकाली सिँचाइ (तेस्रो चरण)को नहरमार्फत नेपालतर्फ पानी पठाउने विषय, राहुघाट जलविद्युत् आयोजना, इनरुवा–पूर्णिया र न्यू लम्की–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण, साथै नेपालबाट भारततर्फ थप विद्युत् निर्यातका प्रस्तावबारे कुराकानी भएको थियो।

मन्त्री घिसिङले दसैँ–तिहारका बेला आन्तरिक विद्युत् खपत घट्ने भएकाले भारततर्फ थप विद्युत् निर्यातको स्वीकृति दिन आग्रह गर्नुभएको बताइएको छ। हाल नेपालले भारतसहित बङ्गलादेशमा १,१६५ मेगावाट विद्युत् निर्यातको स्वीकृति पाएको छ भने थप चार आयोजनाबाट १३८ मेगावाट निर्यातका लागि भारतलाई प्रस्ताव गरिएको छ।

इनरुवा–पूर्णिया र न्यू लम्की–बरेली ४०० केभी प्रसारण लाइनको भारततर्फको अध्ययन पूरा भएको जानकारी पनि भेटमा दिइएको थियो। जेनजी आन्दोलनका कारण क्षति पुगेका संरचना पुनर्निर्माणमा आवश्यक परे सहयोग गर्न भारत तयार रहेको राजदूत श्रीवास्तवले बताएका छन्।

भेटमा ऊर्जा मन्त्रालयका सचिव सरिता दवाडी, सहसचिवहरू चिरञ्जीवी चटौत र सन्दीपकुमार देव, साथै परराष्ट्र मन्त्रालय दक्षिण एशिया महाशाखाका शाखा अधिकृत प्रतिक कार्कीको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्