दसैँयात्रामा अग्रिम टिकट व्यवस्थापन अभाव, व्यवसायीको मनलाग्दीले यात्रु अलपत्र
काठमाडौँ, असोज ६ । दसैँमा घर फर्कन लागेका यात्रुहरू अग्रिम टिकट नपाएर अलपत्र पर्न थालेका छन् । बस व्यवसायीले घोषणा नगरी मनलाग्दी रूपमा टिकट वितरण गर्न थालेपछि यात्रुहरू अन्योलमा परेका हुन् ।
आइतबार गोंगबु नयाँ बसपार्कमा अग्रिम टिकट लिन गएका धेरैजना खाली हात फर्कनुपर्यो । बसपार्कका काउन्टरमा टिकट सकिएको भन्दै कर्मचारीहरूले यात्रुलाई फर्काएका छन् भने कतिपयले मनलाग्दी भाडा असुलेर लैजाने तयारी गरेको यात्रुको गुनासो छ ।
गुल्मीका मीनबहादुर थापामगरले ११ गते यात्रा गर्ने योजना बनाए पनि १२ गतेसम्मको टिकट नै नभएको भन्दै असन्तुष्टि जनाउनुभयो । “विगतमा सजिलोसँग टिकट पाइन्थ्यो, अहिले व्यवसायीले वास्ता नै गर्दैनन्,” उहाँले भन्नुभयो ।
विशेषगरी पहाडी जिल्लातर्फ जाने बसको टिकट पाउन अझै कठिन भइरहेको छ । गुल्मी, अर्घाखाँची, रोल्पा, रुकुम जस्ता जिल्लामा दैनिक बस बढाउँदा पनि माग धान्न नसकेको बसपार्क कर्मचारीले जानकारी दिएका छन् । पहुँच भएका व्यक्तिले फोनमार्फत टिकट रोक्ने प्रवृत्तिका कारण सामान्य यात्रु वञ्चित भएको यात्रुको भनाइ छ ।
यसपालि जेनजी आन्दोलनका कारण धेरै यात्रुहरू घटस्थापना अघि नै उपत्यका छोडिसकेकाले यात्रुको चाप केही कम हुने अनुमान गरिएको छ । तर दाउन्ने खण्डमा भएको निरन्तर अवरोध, सडकको दुरावस्था र मौसमका कारण समयमा बस उपलब्ध गराउन कठिनाइ भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।
महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार ११ र १२ गतेको टिकट बुक भइसकेको छ भने १३ देखि १५ गतेसम्मको लागि क्रमशः बुकिङ खुलाइनेछ । उहाँले व्यवसायीलाई यात्रु सहज र सुरक्षित बनाउन निर्देशन दिइएको भन्दै यात्रुलाई समस्या परेमा नागरिक सहायता कक्ष र प्रहरीले सहयोग गर्ने जानकारी दिनुभयो ।
दसैँ विशेषत: फूलपातीदेखि टीकासम्म यात्रुको चाप अत्यधिक हुने भएकाले रुट परमिट खुला गरिएको छ । नागढुङ्गा प्रहरीले उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या दैनिक बढिरहेको जनाएको छ ।

