आजदेखि हिन्दुहरूको महान् पर्व बडादशैँ प्रारम्भ, घटस्थापनासहित नवरात्र सुरु



काठमाडौँ, असोज ६ । हिन्दुहरूको महान् पर्व बडादशैँ आजदेखि प्रारम्भ भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व यस वर्ष पनि धूमधामका साथ घटस्थापनासहित सुरु भएको हो ।

आज बिहान ०९:१३ बजे शुभ साइतमा देशभरका घर–घरमा दियो, कलश र गणेश स्थापनासहित दुर्गा देवीको आह्वान गरी पूजा आराधना गरिएको छ । पूजा कोठामा बालुवा वा माटो राखी जौ (जमरा) रोपेर दुर्गालाई चढाइने परम्परा छ । विजयादशमीका दिन यही जमरा टीका र प्रसादसँगै ग्रहण गर्ने परम्परा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष विजया दशमी असोज १६ गते पर्नेछ । देवी विसर्जनको साइत बिहान ०९:२३ बजे र टीका ग्रहणको उत्तम साइत बिहान ११:५३ बजे रहेको छ ।

नवरात्रभर नवदुर्गा—शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको विधिपूर्वक पूजा गरिनेछ । गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, पलाञ्चोक भगवतीलगायतका शक्तिपीठमा विशेष दर्शन, पूजा र मेलाको चहलपहल देखिने अपेक्षा गरिएको छ ।

परम्पराअनुसार हनुमानढोकाको दशैँ घरमा पनि आजैदेखि विशेष पूजा सुरु गरिएको छ । महानवमीका दिन दरबारको कोतमा ५४ बोका र ५४ राँगासहित बलि दिने परम्परा यस वर्ष पनि निर्वाह गरिनेछ ।

दशैँलाई सत्यको असत्यमाथि, दैवी शक्तिको आसुरी शक्तिमाथि विजयको प्रतीकका रूपमा मनाइन्छ । साथै, यो पर्वलाई पारिवारिक पुनर्मिलनको अवसरका रूपमा समेत लिइने हुँदा रोजगारी, अध्ययन वा अन्य कारणले बाहिर रहेका मानिसहरू घर फर्केर परिवारसँगै मनाउने परम्परा रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस्