एसिया कप टी–२०: पाकिस्तानलाई फेरि पराजित गर्दै भारत सुपर–४ मा विजयी
काठमाडौँ, असोज ६ । एसिया कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर–४ को खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ । आइतबार राति दुबईमा सम्पन्न खेलमा पाकिस्तानले दिएको १७२ रनको लक्ष्य भारतले १८.५ ओभरमै ४ विकेटको क्षतिमा पूरा गरेको हो ।
भारतका लागि ओपनर अभिषेक शर्माले ३९ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ७४ रनको धुवाँधार पारी खेले । त्यस्तै शुभमन गिलले २८ बलमा ४७ रन, तिलक बर्माले नटआउट ३० रन जोडे । पाकिस्तानका बलरहरूमध्ये हरिस रौफले २ तथा अबर अहमद र फहिम असरफले एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । पाकिस्तानका साहिबजादा फरहानले ४५ बलमा ५८ रन बनाए भने सइम अयुबले २१, फखर जमानले १५ र फहिम असरफले नटआउट २० रन जोडे ।
बलिङतर्फ भारतका शिवम् दुवेले २ विकेट लिँदा हार्दिक पाण्ड्या र कुलदिप यादवले एक–एक विकेट लिए ।
सुपर–४ मा यसअघि बंगलादेशले श्रीलंकालाई पराजित गरेको थियो । भारतले यसअघि समूह चरणमा पनि पाकिस्तानलाई हराएको थियो, जसले प्रतियोगितामा उसलाई बलियो दावेदारका रूपमा उभ्याएको छ ।

