चाडपर्व लक्षित सार्वजनिक यातायातमा आजदेखि रुट परमिट खुला
काठमाडौँ, असोज ६ । यात्रुवाहक सार्वजनिक सवारी साधनका लागि आजदेखि रुट परमिट खुला गरिएको छ । दसैँ, तिहारलगायतका चाडपर्वमा यात्रुहरूलाई सहज आवागमनको व्यवस्था मिलाउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको समन्वयमा सोमबारदेखि देशभर रुट परमिट खुला गरिएको हो ।
महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार अब निर्धारित रुट लिनु नपरी सार्वजनिक यातायात सिधै गन्तव्यसम्म पुग्न सक्नेछन् । तर, विशेष भौगोलिक कारणले निषेध गरिएका मार्गमा ठूला वा उपयुक्त नभएका सवारीसाधन भने चल्न पाउने छैनन् ।
यो सुविधा आगामी असोज २२ गतेसम्म कायम रहने जनाइएको छ । सार्वजनिक सवारी प्रयोग गर्दा यात्रुले अनिवार्य रूपमा टिकट लिनुपर्ने प्रावधान यथावत् रहने महासङ्घले स्पष्ट पारेको छ ।
यातायात सहज बनाउन सरकारले खाद्यान्नलगायतका अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीबाहेक ट्रेलर तथा अन्य ठूला सवारी साधनलाई नारायणघाटदेखि काठमाडौँसम्म आगामी पूर्णिमासम्म सञ्चालन नगर्ने निर्णय गरिसकेको छ ।

