मनसुनी वायुको प्रभाव कमजोर बन्दै



काठमाडौं,असोज ६ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आँशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार सोमबार कोशी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी प्रदेशका केही स्थानहरूमा, बाँकी पहाडी भू–भागको थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।  

यसैगरी, राति कोशी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा देखि आंशिक बदली रहने छ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

प्रतिक्रिया दिनुहोस्