एक महिनापछि सञ्चालनमा आउँदै नेपाल–चीन जोड्ने अरनिको राजमार्ग



काठमाडौँ, असोज ६ । एक महिनादेखि अवरुद्ध रहेको नेपाल–चीन जोड्ने अरनिको राजमार्ग आजदेखि सञ्चालनमा आउने भएको छ । बाह्रबिसेदेखि कोदारी खण्डका पाँच स्थानमा खसेको पहिरो पन्छाएपछि हिजो ट्र्याक खुलाइएको हो ।

सडक सफा गरी ग्राभेलको काम सम्पन्न भएपछि आजैदेखि सवारी सञ्चालन सुरु गरिने सडक डिभिजन चरिकोटका सूचना अधिकारी सुरज महर्जनले जानकारी दिनुभयो । उनका अनुसार सडक खुलाउन चार वटा एस्काभेटर, तीन वटा लोडर र ४० जनासम्म कामदार खटिएका थिए ।

अन्तरिम सरकारका भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले सडक खुलाउने कामलाई तीव्रता दिन निर्देशन दिएका थिए । यसअघि असोज ३ गते तातोपानी भन्सार कार्यालयमा बसेको सर्वपक्षीय बैठकले स्थानीय माग सम्बोधन गर्ने र पहिरो हटाउने कार्यमा स्थानीयले अवरोध नगर्ने सहमति गरेको थियो ।

भदौ ८ गतेदेखि लेदो र पहिरोका कारण सडक अवरुद्ध हुँदा चीन–नेपाल व्यापारसमेत ठप्प भएको थियो । यसले गर्दा चनियाँ सीमामा सामान बोकेका १५ सयभन्दा बढी कन्टेनर रोकिएका थिए । केही कन्टेनर कोरला नाकामार्फत नेपाल भित्रिएका भए पनि धेरै सामान रोकिँदा व्यापारिक गतिविधि प्रभावित भएको थियो ।

नाका खुलेसँगै दशैँका लागि आवश्यक सामग्री ल्याउन सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्