गोरखा दरबारमा जमरा राखी घटस्थापना सम्पन्न



काठमाडौं,असोज  । नेपालका ऐतिहासिक शक्तिपीठमध्ये एक गोरखा दरबारमा सोमबार बिहान विधिपूर्वक जमरा राखी घटस्थापना सम्पन्न गरिएको छ । बिहान ९ः१३ मिनेटको साइतमा गोरखकाली र गोरखनाथमा जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार दसैँघरको पूजाकोठाको गर्भगृहमा ६ माना, जमरा कोठामा १ पाथी, गोरखनाथ बाबाको गुफामा ४ माना, उपल्लोकोट कालीमा १ माना, तल्लोकोट कालीमा १ माना र अन्य स्थानमा गरी करिब ३ पाथी जौ राखिएको छ ।

मुख्य पुजारी शारदाप्रसाद भट्टराईका अनुसार कागे अष्टमीका दिन मालश्री धुन परिवर्तनपछि माटो हेराउने परम्पराअनुसार खनखबास थरका कन्याले उपल्लोकोटबाट माटो ल्याई लिपपोत गरी त्यसै माटोमा जमरा राखिएको हो । यससँगै यस वर्षको दशैँ पूजाआजा औपचारिक रूपमा सुरु भएको उहाँले बताउनुभयो ।

परम्पराअनुसार बिहान ५ः३४ बजे काली भगवतीलाई कैलाश भवनबाट दसैँघरमा सवारी गराइएको छ । विजयादशमी विसर्जनपछि दुर्गाभगवतीलाई राजगद्दी नजिकैको राजकन्या कोठामा राख्ने परम्परा छ भने पूर्णिमाको दिन पुनः कैलाश भवनमा फिर्ती सवारी गराइन्छ ।

नवरात्रको पहिलो दिन शैलपुत्री भगवतीको पूजा गरिएको छ । यस अवसरमा ९ रात्रीसम्म दुर्गा सप्तशती चण्डीपाठ, शुक्ल यजुर्वेद पाठ र गोरक्षा सहस्रनाम पाठ गरिने परम्परा रहेको छ ।

यस वर्ष सरकारले दरबारमा आउने बजेट कटौती गरेसँगै बलिको संख्यामा कमी आएको छ । अब १६ वटा राँगा, ३६ वटा बोका, १० वटा भेडा, ८ वटा कुखुरा र ५ वटा सुँगुर गरी जम्मा ८४ वटा बलि दिने कार्यक्रम रहेको बताइएको छ ।

यसैबीच, प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा पनि सोही साइतमा विधिपूर्वक जमरा राखी घटस्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्