जेनजी आन्दोलनको आगजनीपछि तुलसीपुर उपमहानगरपालिका दमकलविहीन
दाङ,असोज ६ । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी गर्दा तुलसीपुर उपमहानगरपालिका दमकलविहीन बनेको छ । आन्दोलनकारीले पालिकाको अत्यावश्यक दमकलमा आगो लगाउँदा त्यससहितका अन्य विपद् व्यवस्थापन सामग्री समेत जलेर नष्ट भएका हुन् ।
तुलसीपुर उपमहानगरपालिकाको तीन हजार लिटर क्षमताको दमकल पश्चिम दाङका शान्तिनगर, बबई र दंगीशरण गाउँपालिकामा समेत प्रयोग हुँदै आएको थियो । उक्त दमकल जलेपछि अब आगलागी वा अन्य विपद्का बेला आवश्यक साधन अभाव हुने चिन्ता थपिएको छ ।
यससँगै वैकल्पिक रूपमा जेटपम्प जोडेर पानी छ्याप्ने बनाइएको ट्र्याक्टर पनि आन्दोलनकै क्रममा जलेर ध्वस्त भएपछि समस्या झन् गम्भीर बनेको छ । पालिकाका भवन तथा अन्य सवारी साधनसँगै दमकल पनि आगजनीमा परेपछि अब विपद् व्यवस्थापन कार्य ठप्प भएको छ ।
विपद् व्यवस्थापन शाखाका प्रमुख टोपबहादुर डाँगीका अनुसार पहिलेको एउटा दमकल बिग्रिएको थियो भने नयाँ खरिद गरिएको दमकल पनि आन्दोलनकारीले नष्ट गरेका छन् । उहाँले भन्नुभयो, ‘‘दमकलसहित भर्खरै खरिद गरिएका प्रहरीका लागि आवश्यक सामग्री पनि जेनजी आन्दोलनका क्रममा खरानी भएका छन् ।’’
दाङलगायत छिमेकी जिल्लामा समेत विपद्का समयमा सहयोग पुग्ने साधन जलेपछि अब वैकल्पिक उपाय खोज्नुपर्ने अवस्था आएको छ । डाँगीले ट्र्याक्टरमा जडान गरिएको जेटपम्प मर्मत गरेर केही समयका लागि उपयोग गर्न सकिने सम्भावना रहे पनि दमकलको इन्जिन जलेको कारण तत्काल समाधान कठिन भएको बताउनुभयो ।
नयाँ दमकल खरिद गर्न करिब ७५–८० लाख रुपैयाँ आवश्यक पर्ने भएकाले तत्काल व्यवस्थापन चुनौतीपूर्ण भएको पालिकाले जनाएको छ । आन्दोलनको क्रममा पालिकाका दुईवटा भवन र पाँचवटा सवारीसाधनमा समेत आगजनी गरिएको थियो ।

